सम्झनाको क्यान्भासमा गिरिजाबाबु !!

केहि दिन अगाडी अहिलेका चर्चित स्वास्थ्य मन्त्री गगन थापाले त्रि-चन्द्र क्याम्पसमा युग पुरुष गिरिजाबाबुलाई सम्झँदै थिए, उनी पहिलो संविधान सभाको चुनावताका १०० वटा भन्दा बढी आमसभा पुगेर आएपछि गिरिजाबाबुलाई भेट्न जाँदाको महत्वपूर्ण किस्सा सुनाउँदै थिए।

गगन थापा: म देशभरि घुमेर आएको छु, तपाईंलाई यहाँ बसेर चुनाव जितिन्छ जस्तो लागेको छ ? वास्तवमा हामो पार्टी चुनाव हार्दै छ। हाम्रो उमेद्वारहरु मैदानमा छैनन्। हामी यो चुनाव हार्दै छौँ।

गिरिजाबाबु: तिमीलाई थाहा छ चुनाव हार्दै छौँ भन्ने, म पार्टीको सभापति, अझ देशको प्रधानमन्त्री मलाइ थाहा छैन होला ? तिमीलाई भन्दा राम्रो संग मलाई थाहा छ, यो चुनाव काँग्रेस हार्दै छ भनेर। तर पनि यो चुनाव गर्नैपर्छ किनभने यो चुनाव गरायो भने काँग्रेस हार्छ तर चुनाव गराएन भने नेपाल हार्छ।

आज गिरिजाबाबुले यो संसार छोडेको सात वर्ष भइसकेछ। पछिल्लो समयको नेपाली राजनीति वा भनौं २०४६ साल पछिको राजनीतिक उतार-चढावको कारक र साक्षी हुन् स्वर्गीय गिरिजा प्रसाद कोइराला। सायद जीवनको उत्तरार्धमा मान्छे कमाउन सफल नेताका रुपमा चिनिने नेता हुन् गिरिजाबाबु। उनलाई गाली गर्ने जमात पनि धेरै छन् तर पनि उनको २०६२ – ६३ आन्दोलन ताका र त्यसपछिको घटनाक्रममा उनको योगदानको कारणले उनलाई नायक नै मानिन्छ। नेपाली राजनीतिको एक शिखर पुरुष हुन् स्व: गिरिजा प्रसाद कोइराला। बृहत शान्ति सम्झौतालाई बाटो दिने कार्यले उनलाई र तत्कालिन बिद्रोही सुप्रिमो कमान्डर प्रचण्डलाइ सँगै उभ्याएको थियो। त्यस पछि देशले कहिल्यै भुल्न नसक्ने प्रचण्ड-गिरिजाको Golden Handshake अहिले देशको राजनीतिक बाटो तय गर्दैछ भनेर भन्दा फरक नपर्ला। मेरो यो लेखमा आफुले देखेको गिरिजाबाबुलाई केलाउने प्रयत्न गर्दै छु र यसमा देशमा गणतन्त्र आउने बेलाको कुराहरु सम्भवत: केही बढी मात्रामा जोडिने छन्।

गिरिजाबाबुले पछिल्लो समयको राजनीतिक घटनाक्रमको नेतृत्व गरे र त्यो राजनीतिक उपलब्धिको संरक्षक पनि बने। अहिले स्थानिय चुनाव घोषणा भएको र यो हुने नहुने भन्ने टिका-टिप्पणी हुन थालेको छ, विशेषत: तराईमा उत्पन्न भएको समस्याका कारण केहिजन चुनाव हुनेमा आशंका व्यक्त गर्दै छन्। सन् २००७ र २००८ मा पनि यस्तै अन्योलता थियो। अझ भनौँ त्यस बेला पनि मधेस तातिएको थियो तर त्यसबेला गिरिजाबाबुले देशवासीको नाममा सम्बोधन गरी चुनाव जसरी नि हुन्छ र यसलाई जसरी पनि गराउछौं भन्ने दृढ संकल्प व्यक्त गरे। उनले त्यसबेलाको मधेस दलहरुसँग सहमति गरे र त्यो सहमतिले चुनावको ढोका खोल्यो। पहिलो संविधान सभा चुनाव भयो र तुहियो पनि तर त्यसले दोस्रो संविधान सभाको बाटो भने खोल्यो र देशले अन्तत: संविधान पायो। केहि विज्ञहरु गिरिजाको सोहि निर्णयले गर्दा अहिले सम्म विवाद भएको भन्छन्। खैर, त्यो कुरामा केही सत्यता होला।

गिरिजाबाबु अनौठो व्यक्ति थिए। त्यसबेलाको ज्ञाताहरुको कुरा मान्ने हो भने सबै दल चुनावमा जान डराएका थिए, कारण थियो ‘हार’ को डर। केही नेताहरुलाई संक्रमणमा रमाउने बानी परेको थियो। काँग्रेसको पनि हालत त्यस्तै थियो, तर गिरिजाबाबुकै शब्दमा भन्ने हो भने उनि आफ्नो Conviction बाट पछि हटेनन र उनले कसले के भन्छ भन्ने कुरालाई पनि खासै वास्ता गरेनन्। सायद यस्तै-यस्तै कारणले गर्दा होला गिरिजाबाबु एकोहोरो बानी भएको नेताको रुपमा पनि चिनिन्छन्। एकछिन गिरिजाबाबुको एकोहोरो बानीको कुरा गरौँ। देशमा जब राजाले निर्वाचित प्रतिनिधिहरुलाइ पाखा लगाएर आफु शक्ति केन्द्र बनेका थिए, त्यसबेला गिरिजाबाबुले निर्वाचित प्रतिनिधि (संसद) पुनर्स्थापना गर्नुपर्छ भनेर रट लगाउँथे। यसै त भ्रष्टचारले ग्रसित भएको देश झन् त्यसमाथी गिरिजाबाबु त भ्रष्टाचारमा अगाडी नै देखिन्थ्ये। त्यसैकारणले गर्दा उनको कुरालाइ खासै मिडियाको नि साथ थिएन, त्यहि पनि गिरिजाबाबुको नेतृत्वमा तत्कालीन ७ दलको प्रतिगमन विरुद्धको आन्दोलन सुरु भयो। राजाले बेला बेलामा प्रधानमन्त्रीको चिट्ठा खोल्थे र नेताहरुलाई पंगु बनाउथे। त्योबेला नेपाली काँग्रेस २ कित्तामा बाँडिएको थियो र नेकपा एमाले पनि एक-दुइ पल्ट प्रतिगमन आधा सच्चियो भन्दै राजाको चुटकिलामा सामेल भएका थिए। यसरी राजाको दर्शन भेटमा जाने अरु नेता र दलहरुलाइ झकझकाउने काम गर्थे गिरिजाबाबु। उनको हठ ठिक थियो थिएन थाहा भएन तर अन्त्यमा सबैजना उनले समातेको बाटो मै आउनु पर्यो। कतिले त राजाले गिरिजाबाबुसँग निहुँ खोज्नु नै गणतन्त्रको मुहान बन्ने प्रमुख कारण हो भन्छन् किनभने गरिजाबाबु माओवादी-प्रेमी भने अवश्य थिएनन्। राजाको यिनै कमजोरी ८० नाघेका गिरिजाले सजिलै समाते। यो उनि कुटिल राजनीतिक खेलाडी हुन् भनेर साबित गर्ने एउटा प्रतिनिधि किस्सा मात्रै हो।

जुनबेला राजाले जनताको नासो जनतालाई नै फिर्ता भनि घोषणा गरे, त्यसबेला सबै नेताहरुले एकजुट  भएर गिरिजाबाबुलाई नै देशको नेतृत्व सम्हाल्नको लागि आग्रह गरे। तर, पछिल्लो समयमा सबैले मानेका अनि चाहेका नेतालाई देशको नेतृत्वमा नपाउनु राजनीतिक खिचातानीको कारणले हो।

गिरिजाबाबुको अर्को राम्रो बानी भनेको उनि आफ्नो बोलीमा अडिग थिए। चुनावको मिति सर्थ्यो तर उनले चुनाव हुँदैन भनेर कहिल्यै भनेनन्, उनले कतिपय त्यस्तै कुराहरु एक्लै भएको बेला आएर सोध्नु भन्थे किनभने केहि बोल्यो भने शान्ति प्रक्रिया भडकिन्छ कि भन्ने डर थियो र उनी तर्किने गर्थे। यस्तो कुरामा तर्किनु पनि सहि साबित भयो। कसैले अलि गाह्रो र आच्छु आच्छु पर्ने प्रश्न गरे भने प्रश्न गर्नेलाइ तेइ प्रश्न तेर्साउँथे र सहयोग गर्न अपिल गर्थे र प्रजातन्त्र संस्थागत हुने बेला संक्रमण भड्किने काम नगर्न आग्रह गर्थे। बिपीलाई नजिकैबाट चिनेका गिरिजाबाबुले बिपीको नीति र बिपीसँग जोडिएको विभिन्न प्रशंगहरु जोडेर कुरा गर्थे अनि नेपाली काँग्रेसले गरेको योगदानको कुरा गर्न कहिल्यै पनि चुक्दैन थिए। उनको उत्तराधिकारी र काँग्रेस, देशको भविष्यमा उनको जवाफ प्रजातन्त्रको संस्थागन र समस्याको समाधान संविधान सभाको चुनाव भन्दै हिंडथे।

गिरिजाबाबुलाई भ्रस्टाचार र अहिलेको राजनीतिलाई अन्योलताको बाटोमा पुराउने दोष पनि लगाइन्छ। परिवार मोह वा भनौं सुजाता मोहले गर्दा उनले सुजाता कोइरालालाई मन्त्री बनाउने हठ लिए, त्यसले गर्दा उनलाई केहि अलोकप्रिय भने बनाएकै हो। हुन त गिरिजाबाबु नजिक रहेर काम गरेकाहरुले राजनीतिक फड्को मारेकै देखिन्छ, पार्टी भित्र होस् वा पार्टी फोडेर जानेहरु हुन्। दोस्रो संविधानसभाको चुनावमा काँग्रेसले जित्यो र उनकै पथमा हिँड्ने र उनलाई मान्ने सुशील कोइरालाले देशलाई संविधान दिलाई छाडे।

माओबादी नेता प्रचण्ड पनि गिरिजाबाबुको मृत्यु पश्चात पनि उनको गुणगान गाउँथे – गिरिजाबाबू ले यो भन्नु भयो, यसरी गराउनु भयो भनेर उनको योगदानको कदर गरेर थाक्दैन थिए। कतिसम्म भने प्रचण्डले गिरिजाको उचाइको सम्मान गर्दै गिरिजाबाबुले प्रचण्डलाई देशको जिम्मा दिएको र उनको उत्तराधिकारीको रुपमा गिरिजाबाबुले प्रचण्ड देखेको उद्घोष समेत गर्थे। सबैले स्वीकार गर्ने गिरिजाबाबुको गुण भनेको उनले निभाएको अभिभावकको भूमिका र नियममा रहेर समाधान खोज्ने उनको प्रवृति हो। सहमति र सहकार्यको मन्त्र जप गर्ने कोइरालाको मन्त्र अझै पनि सान्दर्भिक छ र देशले केहि समय यो मन्त्रको मनन गर्नु पर्ने देखिन्छ किनभने झन्डै १९,००० को ज्यान लिने जनयुद्दको अन्त्य सहमति, सहकार्य र एकताले नै भएको हो। गिरिजाबाबुको यो कदमले देशले फाइदा बेफाइदा के बेहोर्यो भन्ने विवादको समिक्षा पछी गरौँला तर कम से कम देशमा जुन युद्द चुलिएको थियो त्यसको भने अन्त्य भएकै हो, देशको राजनीति Bullet बाट Ballot सम्म आएकै हो र देशले समाधान लोकतान्त्रिक प्रक्रियाबाट खोज्न थालेकै हो। उनमा दोषको कमि भने छैन तर उनको दोष पछिल्लो शान्ति प्रक्रियामा गरेको योगदानले पखाल्यो भन्दा अत्युक्ति नहोला किनभने गिरिजाबाबुको मलामीमा आधा काठमाडौं उर्लेको थियो। यस्तो विदाइ विरलैले मात्र पाउँछन्।

अन्तमा: आज सेतोपाटीमा तुलानारायण साहको लेखको अन्तिम अंश राख्न मन लाग्यो जसमा साहले आफ्नो  पूर्व राजदूत शिवशंकर मुखर्जीसँगको भेटको कुरा राखेका छन्, यसले पनि गिरिजाबाबुको राजनीतिक छविको बारे उजागर गर्छ।

संयोगवश, केही साता अघि पूर्व राजदूत शिवशंकर मुखर्जीसँग एक डिनरमा भेट भयो। अलिक हलुका माहौलको ब्यग्रतापूर्वक प्रतिक्षारत थिएँ। माहौल अलिक खुकुलो हुनासाथ मैले सोधेँ, –महामहिमजी बितेको एक दसकमा मधेसी मोर्चा काठमाडौं बीच अनेकौं पटक अनेकौं बुँदाको सहमति भएको तर सन् २००८ को फेब्रुरीमा तपाईँको मध्यस्थतामा भएको बुँदे सहमतिजस्तो कुनै सहमति भएको छैन। त्यो सहमति कसरी सम्भव भएको थियो? स्पष्टवत्ता मुखर्जीले जुसको गिलास अगाडिको टेबलमा राख्दै भन्नुभयो,– ‘अल डयू टु गिरिजाबाबु’…अर्थात ती सबै गिरिजाबाबुको कारण सम्भव भएको थियो। त्यो चैँ कसरी? मेरो अर्को छोटो प्रश्न थियो। ‘गिरिजाबाबु बडो स्पष्ट हुनुहुन्थ्यो भन्नुहुन्थ्यो – तपाईँलाई मन परोस् वा नपरोस् तर आन्दोलन उठिसक्यो भने त्यसमा उठेको एजेण्डाको सम्बोधन हुनुपर्छ। वार्तामा सबै पक्षले केही केही पाएको महशुश गर्नुपर्छ । …….वश, गिरिजाबाबुको त्यही बटमलाइनलाई टेकेर बुँदे सहमतिको ड्राफ्ट तयार भएको थियो।

कहिलेकाहिँ सोच्ने गर्छु गिरिजाबाबु साँचै पहिलो संविधानसभाको चुनाव पश्चात गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भएको भए के हुन्थ्यो होला ? गिरिजाबाबुको चाहना राष्ट्रपति भएर संसार छोड्ने थियो भन्ने कुराको टिप्पणी धेरै भइसक्यो। सायद Gentlemen’s Agreement पनि त्यहि थियो तर राजनीति न हो – गिरिजाबाबुको यो सपना पुरा हुन सकेन र जानकारहरुको कुरा मान्ने हो भने देश अहिले को जस्तो धेरथोर भए पनि अन्योल परिस्थितिमा पुग्ने थिएन वा पहिलो संविधान सभा तुहिने थिएन। मैले गिरिजाबाबुलाई एउटा राजनीतिक हिरो कै रुपमा लिन्छु किनभने मैले बुझ्न थालेपछिको राजनीतिको सुत्रधार थिए उनि, एउटा निश्चित लक्ष्यको पछि थिए एक ८० नाघेका जोशले भरिएका नेता। अहिलेको अवस्थामा गिरिजाबाबु जस्तो नेताको खोजिमा छ देश र धेरैले भन्ने गर्छन् – गिरिजाबाबु नभएर हो यस्तो भएको। साँच्चै अभिभावक त देशले खोजेकै छ जस्तो पनि लाग्छ र राजनीतिक उपलब्धी संथागत गर्न सबै जिम्मेवार पार्टी, नागरिक समाज, पत्रकार र अन्य निकाय एक ढिक्का भएर रास्ट्रिय मुद्दा सम्बोधन गर्नु नै गिरिजाबाबु प्रति सच्चा श्रद्धाञ्जल़ी हुनेछ।

र अन्त्यमा, मेरो यो लेख पुरै पढ्नेहरुलाइ सोध्न चाहन्छु – साँच्ची! गिरिजाबाबु अहिलेसम्म बाँची राखेको भए के हुन्थ्यो होला ?

 

Leave a comment